जग्गा धितो राखेर ऋण दिन बन्द, भूउपयोग नियमावली कारक

३१ जेठ, काठमाडौं । बैंक तथा वित्तीय संस्था र सहकारीहरुले जग्गा धितो/बन्धकमा राखेर ऋण दिन बन्द गरेका छन् । सरकारले गत २३ जेठमा जारी गरेको भू-उपयोग नियमावली-२०७९ले नियमावली अुनसार वर्गीकरण नभएका जग्गा धितोको रुपमा रोक्का राख्न छोडिएपछि ऋण दिन बन्द भएको हो ।

नियमावलीको व्यवस्था बमोजिम सम्बन्धित मालपोत कार्यालयहरुले वर्गीकरण नभएका जग्गाको कारोबार रोक्का राख्न छाडेका हुन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार मनित्रपरिषदबाट पारित भएको नियमावली अनुसार अब वर्गीकृत नभएका जग्गा धितो रुपमा राख्न नसकिने देखिएको छ ।

‘बैंकले धितोको रुपमा स्वीकारेको जग्गा रोक्काका लागि मालपोत कार्यालयमा पत्र पठाउनहुन्छ,’ उनले भने,’तर नियमावलीअनुसार स्थानीय तहले वर्गीकरण नगरेका जग्गा रोक्का राख्न सकिन्न । त्यसका कारण बैंकले ऋण दिन पनि पाएका छैनन् ।’

अहिलेसम्म अधिकांश स्थानीय तहले आफ्नो क्षेत्रको भू उपयोग योजना बनाएका छैनन् । नियमावलीको व्यवस्थाका कारण अब कहिलेसम्म जग्गा धितोमा राख्न रोकिने हो भन्ने स्पष्ट छैन ।

प्रवक्ता भण्डारीका अनुसार अहिले कुनै पनि मालपोत कार्यालयले बैंकले धितोको रुपमा स्वीकारेर रोक्का राख्न पठाएका जग्गा रोक्का राखिरहेका छैनन् ।

भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले मातहतका निकायलाई पात्राचार गर्दै खेती योग्य जग्गा वा गैर कृषि क्षेत्र निर्धारण गर्ने प्रयोजनका लागि स्थानीय भूउपयोग परिषदले भूउपयोग ऐन २०७६ र भूउपयोग नियमावली २०७९ ले तोकेको मापदण्डका आधारमा कृषि क्षेत्र र गैरकृषि क्षेत्र वर्गीकरण गर्नपर्ने भन्दै निर्णय बमोजिम मात्र स्थानीय तहले कित्ताकाट प्रयोजनका लागि सिफारिस गर्नुपर्ने स्पष्ट गरेको छ ।

सरकारले तोकिएअनुसारको वर्गीकरण गरेपछि मात्रै धितो वा बन्धकका रुपमा जग्गाको कारोबार रोक्का गर्ने व्यवस्था गरेको छ ।

यो निर्देशनका कारण मालपोत कार्यालयले अहिलेकै अवस्थामा धितोका जग्गालाई रोक्का राख्न अस्वीकार गरेका हुन् । रोक्का नहुने भएपछि बैंकहरुले प्रक्रिया पुरा गरेका ऋण पनि जारी गर्न सकेका छैनन् ।

मन्त्रिपरिषदबाटै यो निर्णय भएकाले यसमा पुनर्विचार गर्न बैंकहरूले पहल थालिसकेका छन् ।

स्रोत: अन लाईन खबर

Blogs
What's New Trending

Related Blogs